काठमाडौँ — प्रदेश सरकारहरूले स्थानीय तहका जनप्रतिनिधिलाई सुविधा दिन ऐन संशोधनको तयारी गरेका छन् ।
सर्वोच्च अदालतले गत कात्तिक पहिलो साता स्थानीय तहका पदाधिकारी र सदस्यहरूको मासिक पारिश्रमिक तथा ज्यालासहितको सुविधासम्बन्धी प्रदेशका कानुनहरू एकमुष्ट खारेज गरिदिएपछि ६ वटा प्रदेशका जनप्रतिनिधिले वैधानिक रूपमा सुविधा लिन पाएका छैनन् ।
पाल्पाको निस्दी गाउँपालिकाले जनप्रतिनिधिका लागि किनेको मोटरसाइकल । एउटै मोटरसाइकलको ४ लाख ८५ हजार पर्छ । यो गाउँपालिकामा कर्मचारीभन्दा सवारीसाधन धेरै छन् ।
पारिश्रमिक कटौती भएपछि खर्च धान्नै मुस्किल भएको गुनासो गर्दै आएका जनप्रतिनिधिहरू पछिल्लो समय कार्यालय जानसमेत छाडेका छन् । उनीहरूले सुविधासम्बन्धी विशेष व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दै आएका छन् । जनप्रतिनिधिका यही माग सम्बोधन गर्न प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सरकारले ऐन संशोधन गर्न लागेका हुन् ।
प्रदेश ५ सरकारले स्थानीय तहका पदाधिकारीको सेवारसुविधासम्बन्धी ‘विशेष व्यवस्था’ गर्न ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, ०७५’ संशोधन गर्न लागेको छ । यसका लागि केही समययता जनप्रतिनिधिले लबिइङ गरिरहेका थिए ।
संशोधनको मस्यौदामा जनप्रतिनिधिलाई पहिलाको भन्दा धेरै सुविधा दिने प्रस्ताव छ । सुविधाअन्तर्गत यातायात, अतिथि सत्कार, टेलिफोन, इमेल इन्टरनेट, पत्रपत्रिका, खानेपानी, विद्युत्लगायतका शीर्षक थपिएका छन् । अतिथि सत्कारका लागि ६ देखि १८ हजार रुपैयाँसम्म मासिक सुविधा दिने प्रस्ताव छ । पत्रपत्रिका, टेलिफोन, खानेपानीमा तीनदेखि ६ हजार पाँच सय रुपैयाँसम्म दिने उल्लेख छ ।
जिल्ला समन्वय समिति प्रमुखलाई गत असोजसम्म ४१ हजार मासिक सुविधा थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरिरहेको अहिलेको प्रस्तावमा त्यसलाई वृद्धि गरेर ५३ हजार रुपैयाँ पुर्याइएको छ ।
उपमहानगरपालिकाका प्रमुखलाई ४० हजार रुपैयाँ पारिश्रमिक दिने व्यवस्था थियो, अहिले विभिन्न शीर्षकबाट ५२ हजार बनाइएको छ । नगरप्रमुखले प्रतिमहिना ३५ हजार बुझ्ने गरेकामा अब ४७ हजार र गाउँपालिका अध्यक्षले ३० हजार पाउने गरेकामा अब ४२ हजार रुपैयाँ मासिक सुविधा दिने उल्लेख छ ।
अधिवक्ता लोकेन्द्र वलीले प्रदेश ५ सहित अन्य प्रदेशका विधेयकलाई आधार बनाएर गत भदौ १ गते सर्वोच्चमा रिट दायर गरेका थिए । जनप्रतिनिधिलाई पारिश्रमिक दिनु संविधानको धारा २२० को उपधारा ८ र धारा २२७ विपरीत हुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासले कात्तिक १ गते स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ६ वटा प्रदेशका ऐन खारेज गरिदिएको थियो ।
प्रदेश ५ सरकारले तयार गरेको मस्यौदाअनुसार गाउँपालिका अध्यक्षले अब मासिक ४२ हजार रुपैयाँ बुझ्नेछन् । यसअघि अध्यक्षलाई पारिश्रमिकबापत सुविधा भनेर मासिक ३० हजार रुपैयाँ दिने व्यवस्था थियो । अहिले यातायात सुविधा मासिक १२ हजार, पत्रपत्रिका, इन्टरनेटबापत ५ हजार, टेलिफोन, मोबाइल रिचार्जबापत ५ हजार, अतिथि सत्कारमा १० हजार, खानेपानी सरसफाइमा पाँच हजार र मर्मत सम्भार एवं विद्युत्बापत ५ हजार गरी मासिक ४२ हजार रुपैयाँ पुर्याउन लागिएको हो । चाडपर्वबापत वार्षिक १५ हजार रुपैयाँ उपलब्ध हुनेछ । बैठक भत्ता प्रतिबैठक ७ सय दिने गरेकामा त्यसलाई पनि वृद्धि गरी १२ सय ५० दिने प्रस्ताव छ ।
गाउँपालिका उपाध्यक्षले २७ हजार पाउँदै आएकामा अब ३९ हजार रुपैयाँ पुग्ने गरी मस्यौदा तयार पारिएको छ । यातायात, पत्रपत्रिका, टेलिफोन सुविधा अध्यक्षसँग समान छ । अतिथि सत्कारमा ८ हजार, खानेपानी सरसफाइमा ४ हजार ५ सय र विद्युत् मर्मत सम्भारमा ४ हजार ५ सय रुपैयाँ मासिक सुविधा थप गरिएको छ । बैठक भत्ता ३ सय थप गरी १ हजार रुपैयाँ पाउनेछन् । कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस