ठिनी-सन् २०१९ मा करिब चार हजार विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्। जनवरीदेखि नोबेम्बरसम्म ११ महिनामा तीन हजार ८६३ विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन। यो सङ्ख्या सन् २०१८ को सोही अवधिको भन्दा १.५० प्रतिशतले कम हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख तुलसी दाहालका अनुसार २०१८ को जनवरीदेखि नोबेम्बर महिनासम्म तीन हजार ९२२ ले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए। चालू अङ्ग्रेजी महिना डिसेम्बरको तथ्याङ्क प्राप्त हुन बाँकी छ।
एक्यापको कागबेनीस्थित चेकपोष्टले अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङ भ्रमणमा जाने पर्यटकको तथ्याङ्क राख्ने गरेको छ। जनवरीमा १०, फेब्रअरीमा ९, मार्चमा १०२, अप्रिलमा ४७०, मेमा ६४०, जुनमा १०४, जुलाइमा २५३, अगस्तमा ४३४, सेप्टेम्बरमा ५५०, अक्टोबरमा ९६७ र नोबेम्बरमा ३२४ जना पर्यटक उपल्लो मुस्ताङ भ्रमणमा गएको तथ्याङ्क छ। आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी भइरहेका बेला राष्ट्रिय तथ्याङ्कको अनुपातमा उपल्लो मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्याले मुस्ताङका सरोकारवालालाई चिन्ता पैदा गरेको छ। महङ्गो प्रवेश शुल्क, भ्रमण अनुमतिका लागि झञ्जटिलो प्रक्रिया र पुराना पदमार्ग सडकमा परिणत हुँदा पर्यटक आगमनमा असर परेको लोमान्थाङ होटल व्यवसायी सङ्घका कोषाध्यक्ष रामबहादुर गुरुङले बताए।
पर्यटक बढाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शुल्क घटाउन स्थानीयवासीले एक वर्षयता दबाबमूलक कार्यक्रम गर्दै आएका छन्। चीनको सीमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशीले कम्तीमा दुई जनाको समूह बनाएर अध्यागमन विभागलाई ५०० डलर तिरेर १० दिनका लागि अनुमति लिनुपर्ने व्यवस्था छ। दश दिनभन्दा बढी बस्नुपर्दा कारण खुलाएर प्र्रतिदिन ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनुपर्छ। काठमाडौँबाट अनुमति लिएर भ्रमणमा आउनुपर्छ। ‘प्रवेश शुल्क महङ्गो भएका कारण सबै वर्ग र आर्थिक हैसियतका पर्यटक उपल्लो मुस्ताङ घुम्न आउन नसकेको ठहर गर्दै शुल्क घटाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसम्म ज्ञापनपत्र बुझाएका छौँ”, गुरुङले भने, “शुल्क नघटे हामी आन्दोलनमा जाने तयारीमा छौँ।
पर्यटक आगमन बढाउन नयाँ पदमार्ग र गन्तव्यको खोजीमा लागेको एक्याप लोमान्थाङका श्रीकृष्ण न्यौपानेले बताए। पुरानो पदमार्ग सडकका कारण विस्थापित भएकाले विभिन्न बस्ती, गुफा, गुम्बा र दरबार भएका क्षेत्रलाई समेटेर पदमार्ग सञ्चालनको तयारी गरेको उनले बताए। सडक बनेपछि पैदल यात्रा गर्ने पर्यटकलाई धुलो र धुवाँले असर गरेको छ। पर्यटकको बसाइ छोटिएको छ। यातायातको साधनबाट यात्रा गर्दाबीचका पर्यटकीयस्थल ओझेलमा परेका चराङकी अगुवा माया विष्टले बताइन। पहिले दश दिने लाग्नेमा अहिले तीन चार दिनमै भ्रमण गर्न सकिने भएको छ। सन १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गर्दा पहिलो वर्ष ४८३ जना पर्यटक आएका थिए ।
कलात्मक पहाड, उजाड मरुभूमि जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका यस क्षेत्रको आकर्षण हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस