काठमाडौँ-कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट सूर्यग्रहण अवलोकनको व्यवस्था छ। समितिले नेपालका तीन स्थानबाट देखिने खण्डग्रास सूर्यग्रहणसम्बन्धी तथ्यसमेत सार्वजनिक गरेको छ। काठमाडौँ, महेन्द्रनगर र भद्रपुरबाट देखिने सूर्यग्रहणको वैज्ञानिक रुपमा गणितीय गणनाअनुरुप शुद्ध तथ्याङ्क निकाली जनमानसमा जानकारी गराएको हो। जसअनुसार काठमाडौँमा ०८ः४३, महेन्द्रनगरमा ०८ः३८ र भद्रपुरमा ०८ः४८ मा ग्रहण शुरु हुनेछ। यसैगरी ग्रहणको मध्य पनि काठमाडौँमा १०ः०१, महेन्द्रनगरमा ०९ः५२ र भद्रपुरमा ०९ः५९ मा हुनेछ। ग्रहणको अन्त्य काठमाडौँमा ११ः३३, महेन्द्रनगरमा ११ः१९ र भद्रपुरमा ११ः२७ मा हुने समितिले जनाएको छ।
यसैगरी ग्रहण अवधि काठमाडौँमा २ घण्टा ५० मिनेट, महेन्द्रनगरमा २ घण्टा ४३ मिनेट र भद्रपुरमा २ घण्टा ५३ मिनेटसम्म रहनेछ। यसैगरी सूर्यग्रहणको दिप्तीक्रम काठमाडौँमा ०.५०१, महेन्द्रनगरमा ०.५११ र ०.४७४ हुनेछ। ग्रहण प्रतिशत भने काठमाडौँ र महेन्द्रनगरमा ३९ एवं भद्रपुरमा ३६ रहने जनाइएको छ।यसपटकको सूर्यग्रहण नेपालबाट बिरल छायाँ र खण्डग्रासमात्र देखिने छ। पृथ्वीको केही भागको करिब १०० किमिको ब्याण्डबाट बलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ। चन्द्रमाको छायाँको व्यास सूर्यको भन्दा सानो भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि रिङजस्तो देखिने निमित्त कार्यकारी निर्देशक शर्माले जानकारी गराए। यस्तो अवस्थालाई ‘रिङ अफ फायर’ भनिन्छ।
साउदी अरबबाट ‘रिङ अफ फायर’ देखिन शुरु हुन्छ। कतार, युएइ, ओमान, दक्षिण भारत, उत्तरी श्रीलङ्का, बङ्गालको खाडी, मलेसिया, इण्डोनेसिया, सिङ्गापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ। बिरल छायाँ भने पूर्वी युरोपको केही भाग, एशियाको अधिकांश भाग र अष्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिने समितिको अध्ययनले देखाएको छ।
यसैगरी बलायाकार सूर्यग्रहण काठमाडौँबाट देखिने छैन। सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर अवलोकन गर्नु हुदैन। यसरी हेरेमा आँखा सदाका लागि बिग्रने सम्भावना हुन्छ। एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिविम्बलाई अवलोकन गर्नुहुँदैन। हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चश्माबाट मात्र ग्रहण अवलोकन गर्न सकिने छ।
सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त नभएको समितिले जनाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने ग्रहणको मानिसमा प्रभाव शास्त्रीय विश्लेषणअनुसार चार प्रहर अर्थात् १२ घण्टा अघिदेखि नै सुतक लाग्ने जनाएको छ। जसअनुसार बुधबार बेलुकी ८ः४३ बजेदेखि नै बालक, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेधको शास्त्रीय वचन रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिएका छन्। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णय सिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सुर्य ग्रहणमा चार प्रहर ९१२ घण्टा र चन्द्र ग्रहण मा तिन प्रहर अगाडी देखि सुतक लाग्ने छ।
सुतक लागे पछि भोजन गर्न नहुने धार्मिक बिश्वास रहीआएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस