काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् ।
मन्त्री भट्टराईले राजदूत र वैदशिक साझेदार संस्था प्रमुखलाई आज मन्त्रालयमै आमन्त्रण गरेर छलफल गरी सो आग्रह गरेका हुन् । उनले भ्रमण वर्ष २०२० सफल पार्नमा नेपालस्थित राजदूतहरुको महत्वपूर्ण भूमिका भएको र भ्रमण वर्षका बारेमा विश्वभर सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे।
“नेपाल भ्रमण वर्ष २०२० को विषयमा यहाँहरुका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरुको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु”, मन्त्री भट्टराईले भने, “मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष २०२० र क्रिसमस नेपालमै मनाउनुहोस्, यो सन्देश तपाईंको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस् ।”
सम्बन्धित देशका पर्यटनमन्त्रीलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै मन्त्री भट्टराईले पर्यटनमन्त्रीलाई उपस्थित गराइदिन पहलकदमीका अनुरोधसमेत गरे । उनले नेपालमा २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट विस्तारै उठिरहेको स्मरण गर्दै भन्नुुभयो, “महाभूकम्पको पीडाबाट उठ्न गर्नुभएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछाँै, अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौँ ।”
मन्त्री भट्टराईले महाभूकम्पबाट भत्किएका भएको नेपालका ८९१ सम्पदामध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिएका छन् । उनले दुई वर्षमा भत्किएका सबै सम्पदाको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको हुँदा सबैसँग सहयोगका लागि आह्वान गरेका छन् ।
पर्यटनबाट नेपालको कूल गार्हस्थ उत्पादनमा तीन प्रतिशत योगदान रहेको जानकारी दिँदै उहाँले १५औँ पञ्चवर्षीय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताएका छन् । मन्त्री भट्टराईले अहिले विदेशी पर्यटकले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको र अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको जानकारी दिएका छन् ।
मन्त्री भट्टराईले आगामी सन् २०२० मा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए । निजगढ अन्तरराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै उनले लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको बतएक छन् । मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिए ।
नेपालको हवाई सुरक्षाको विषयमा युरोपियन युनियनलगायतले राखेको चासोप्रति गम्भीर रहेको भन्दै मन्त्री भट्टराईले अन्तरराष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार सक्रिय रहेको बतएक छन् । उनले नेपालका निजी तथा सरकारी वायु सेवा निगम कम्पनीले चाँडै विश्वभरिका आकाशमा निर्वाध उडान भर्ने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिँदै आगमी १० वर्षभित्रमा सबै आन्तरिक विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुसारको बनाइने बताएका छन् । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजदूतहरुलाई स्वागत गर्दैै विश्वभरि भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि अनुरोध गरे । नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले नेपालको पर्यकीयस्थलहरुको जानकारी, पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीका बारेमा जानकारी गराएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस