काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपसी विश्वास, राजनीतिक समझदारी विस्तार, आर्थिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध प्रवद्र्धनका साथै साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा रसियासँग सुदृढ सहकार्य गर्न आफू मस्को पुगेको बताएका छन् ।
रुसी महासङ्घको औपचारिक भ्रमणमा रहेका मन्त्री ज्ञवालीले आज मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेशन्समा प्रवचन दिँदै बहुआयामिक नेपाल–रसिया सम्बन्धका विविध पक्षबारे चर्चा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले नेपाल–रसिया सम्बन्ध, परिवर्तित सन्दर्भमा नेपालको परराष्ट्र नीति, नेपालको विकास प्रयास र भावी योजना तथा प्राथमिकता, नेपालको शान्ति प्रक्रिया र त्यसपछिका अवधिमा प्राप्त राजनीतिक उपलब्धि, सामाजिक–आर्थिक रुपान्तरणका प्रयत्नबारे विस्तृत रुपमा जानकारी दिएका छन् ।
नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६३औँ वार्षिकोत्सवको सन्दर्भमा भएको आफ्नो रसिया भ्रमणले दुई देशबीच विद्यमान राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाल र रुसी महासङ्घबीच व्यापार–वाणिज्यका क्षेत्रमा उल्लेख्य साझेदारी हुन नसकेको यथार्थ औँल्याउँदै मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध लगानीका अवसरको भरपूर उपयोग गर्न आग्रह गरेका छन् ।
दुवै देशका सरकार, निजी क्षेत्र, विद्वत् वर्ग, सबै तह र तप्काका जनताले व्यापार, लगानी र पर्यटन प्रवद्र्धनलगायत सबै क्षेत्रमा अर्थपूर्ण साझेदारीका निम्ति अब विलम्ब नगरौँ भने । कृषि, पर्यटन, खनिज पदार्थ उत्खनन, भौतिक पूर्वाधार निर्माण र सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी गर्न सकिने र त्यसमा उच्च प्रतिफल प्राप्त हुने जानकारी दिँदै मन्त्री ज्ञवालीले जलस्रोतका क्षेत्रमा गरिने लगानीले अझ उच्च प्रतिफल दिने भएकाले ढुक्क भएर लगानी गर्न अह्वान गरेका छन् ।
नेपालमा उत्पादित ऊर्जा बिक्रीका निम्ति बजारको समस्या नभएको पनि उनले स्पष्ट पारे । लगानी र व्यवसायको वातावरण बनाउन नेपाल सरकारले नीतिगत एवं संरचनागत सुधार गरेको, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, विशेष आर्थिक क्षेत्र, एकद्वार सेवा प्रवाह प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी पनि दिएका छन् ।
सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन्दर्भमा रुसी महासङ्घका मित्रहरुबाट हुने नेपाल भ्रमणले नेपाल भ्रमण वर्षको हाम्रो अभियानमा टेवा पुग्ने बताउँदै परराष्ट्रमन्त्रीले आकर्षक प्रतिफल प्रदान गर्ने पर्यटकीय पूर्वाधारमा रसियाली लगानी प्रवाह भएमा नेपालको अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पुग्थ्यो भनेका छन् ।
नेपाल भ्रमण वर्षलाई सफल पार्न मस्कोस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली सङ्गठन, द्विदेशीय उद्योग–वाणिज्य तथा मैत्री सङ्घसंस्थाहरुसँग निकट सम्पर्कमा रहेर काम गर्ने बताउँदै उनले अनुकूल रुपमा सन् २०२० मा नेपालको भ्रमण गर्न कार्यक्रममा उपस्थित सबै रुसी नागरिकलाई निमन्त्रणा गरेका छन् ।
सोमबार मन्त्री ज्ञवालीले आफ्ना रुसी समकक्षी सेर्गेइ लाभरोभसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए । त्यस अवसरमा दुई देशबीच आपसी हित र साझा चासोका सबै विषयमा विचार विमर्श भएको थियो । वार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले संयुक्त रुपमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै रसिया–नेपाल सम्बन्ध र भावी योजनाबारे जानकारी दिएका थिए ।
मन्त्री ज्ञवालीले दुई देशबीचको सम्बन्धलाई सरकारी, व्यापारिक समुदाय, विद्वत् वर्ग, सञ्चारकर्मी, वैज्ञानिक, विद्यार्थी, कलाकारका माध्यमबाट थप सुदृढ तुल्याउन सकिने विचार व्यक्त गरेका थिए । उनले राजनीतिक अस्थिरताबाट स्थायित्वतर्फ उन्मुख भएको नेपाल दिगो आर्थिक तथा सामाजिक विकासलाई केन्द्रमा राखेर अघि बढेको जानकारी दिँदै ‘समृद्धि नेपाल सुखी नेपाली’ राष्ट्रिय परिकल्पना साकार पार्न सरकार लागिपरेको बताए ।
मन्त्री ज्ञवालीले नेपाल र रुसी महासङ्घबीचको राजनीतिक समझदारीलाई प्रगाढ तुल्याउने तथा दुवै देशलाई लाभ हुने सहयोगका विविध क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न सकिने बताएका छन् । उनले न्यायपूर्ण, शान्त र समृद्ध विश्व निर्माणका निम्ति क्षेत्रीय एवं अन्तर्राष्ट्रियस्तरमा सहकार्य बढाइने जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पनि मन्त्री ज्ञवालीले रुसी प्रधानमन्त्रीलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणापत्र हस्तान्तरण गरे । उनले आफ्ना रुसी समकक्षीलाई पनि नेपाल भ्रमणका निम्ति निम्तो गरे ।
एक प्रसङ्गमा उनले समसामयिक अन्तर्राष्ट्रिय मामिला तथा विश्व शान्ति र स्थायित्वका साथै विकासोन्मुख देशहरुका साझा चासोका विषय प्रवद्र्धन गर्न रुसी महासङ्घको भूमिमा महत्वपूर्ण रहेको बताएका छन् ।
मन्त्री ज्ञवालीले आगामी चैत २०–२२ गतेसम्म नेपालमा आयोजना हुने विश्वस्तरको संवाद मञ्च सगरमाथा संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, पर्वतीय पर्यावरण र मानव जातिको भविष्य’ शीर्षकमा बौद्धिक बहस हुने जानकारी दिँदै त्यसमा सक्रिय सहभागिताका निम्ति आग्रह गरे।
राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रियस्तरका समसामयिक एवं साझा चासोका विषयमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले गठन भएको राष्ट्रिय मञ्च सगरमाथा संवादका माध्यमबाट विश्वमा द्वन्द्व समाधानका अनेकौँ उपायहरूमध्ये नेपालको मौलिक शान्ति प्रक्रिया, समावेशी लोकतन्त्र, वातावरण संरक्षणमा नेपालको सफलता, नेपालको सांस्कृतिक विविधता, विश्व शान्ति स्थापनामा नेपालले गरेका योगदानबारे छलपल हुने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस