सोल – एकपछि अर्को आणविक बम परीक्षण गरेर उत्तर कोरिया समय समय चर्चामा आइरहन्छ । तर अमेरिका उत्तर कोरियासँग रहेको आणविक बमभन्दा मिसाइल क्षमतामा हासिल गरिरहेको प्रगतिबाट बढी भयभित छ । उत्तर कोरिया र अमेरिकाको पश्चिम किनारालाई प्रशान्त महासागर मात्र छुट्याए पनि ती दुई देशबीच दश हजार किलोमिटरभन्दा बढी दूरी रहेको छ । त्यो दूरीमा मार हान्नसक्ने क्षमता अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलमा मात्र हुन्छ । जुन अमेरिका र रुससगँ हजारौँको सङख्यामा छ । शितयुद्धको समयमा यी दुई राष्ट्र यो मिसाइल एकअर्का विरुद्ध प्रयोग गर्ने धम्की दिन्थे । उत्तर कोरियाले यो मिसाइल हात पार्न लामो समयदेखि प्रयासरत छ । तर हालसम्म तिनले बनाएका मिसाइलका संस्करणले काम गरिरहेको छैन ।
उत्तर कोरियासँग सन् २००६ देखि नै परमाणु बम छ । तिनले आफ्नो छिमेकीमाथि प्रयोग गर्ने सामर्थ राख्छन् । तर ऊसँग लामो दूरीको निशानामा बम हान्नसक्ने प्रविधि छैन । बम खसाल्न हवाइजहाजको प्रयोग गर्न सकिन्छ (जस्तो नागासाकी र हिरोसिमामा यही विधिबाट बम खासालिएको थियो) । तर त्यसलाई लक्ष्यमा पुग्नुअघि सजिलै दुस्मनले नष्ट गरिदिन सक्छन् । फेरि उत्तरको धेरै राष्ट्रसँग हवाई सम्झौता छैन । आणविक बम प्रहार गर्ने सबैभन्दा प्रभावकारी तरिका सो बमलाई मिसाइलमा जोड्नु हो ।
उत्तर कोरियासँग मध्यम दूरीसम्म मार हान्न सक्ने थुप्रै मिसाइलहरू छन् । तर प्रयोगमा गर्न सकिने अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल भने छैन । यस्ता मिसाइलले पन्ध्र हजार किलोमिटर दूरीसम्म मार हान्न सक्छन् । खासमा यो चार अलग मिसाइल एकमाथि अर्को जोडेर एउटै एकाइका रूपमा काम गर्नेगरी निर्माण गरिएको मिसााइल हो । पहिलो चरणमा प्रत्येक हिस्सा एकपछि अर्को चालु गराएर बम राखिएको मुखको भागलाई अन्तरीक्षसम्म पुर्याइन्छ र दोस्रो चरणमा सो भाग आफ्नो लक्ष्यको माथि पुगेलगतै यसलाई वायुमण्डलमा प्रवेश गराएर विष्फोट गराइन्छ । यो निर्माण गर्न निक्कै जटिल उपकरण हो, जसका कारण उत्तर कोरियाले हालसम्म यसको निर्माण गर्न सकेको छैन ।
रकेट परीक्षणको आवरणमा उत्तर कोरियाले विगतमा छ पटक यो मिसायल परीक्षण गरिसकेको छ । जुन तीन पटक असफल भए र बाँकी दुई पटक रकेट अन्तरिक्ष त पुग्यो तर पुन वायुमण्डलमा प्रवेश गरिने महत्वपूर्ण चरणमा असफल रह्यो । भर्खरै गरेको परीक्षण सफल रहेको उत्तरको दाबी पनि सूक्ष्म निगरानीमा विश्वनीय देखिन्न । उत्तर कोरियासगँ सैद्धान्तिक रूपमा अमेरिकाको पश्चिमी किनारसम्म मार हान्न सक्ने के.एन.–०८ र के.एन.–१४ नामका अरू दुई मिसाइल रहेको छन् । तर यीमध्ये कुनै पनि अहिलेसम्म परीक्षण गरिएको छैन । त्यसैले यिनलाई विश्वसनीय मानिन्न ।
तर विगत दश वर्षदेखि उत्तर कोरियाले सो मिसाइलमा गरेको लगानीले ऊ आफ्नो लक्ष्य नजिक पुगेको छ । अमेरिकी सरकारका सुरक्षाविज्ञहरूले उत्तर कोरिया आजको रफ्तारमा गए २०२७ अघि त्यस्तो मिसाइल हात पार्न सफल हुने हिसाब निकालेका छन् । अमेरिकी जासुसी संस्थाले उत्तर कोरियाले सो मिसाइलको निर्माणको सबैभन्दा जटिल चरण– मिसाइलको मुखमा अटाउने आकारको आणविक बम निर्माणमा सफलता हात पारेको सूचना हासिल गरेका छन् । सानो आकारको बमले मिसाइल हल्का र प्रभावकारी बनाउँछ । अमेरिकाका लागि यो ठूलो टाउको दुखाइको विषय बनेको छ ।
उत्तर कोरिया यस्तो प्रविधि पहिले किन चाहन्छ त ?
निश्चित मिति थाहा नभए पनि उत्तर कोरियाले १९५० को दशकमा पहिलो पटक आणविक प्रविधि हासिल गरेको हो । उसलाई आफ्नो मित्रराष्ट्र तत्कालीन सोभियत सङ्घले आफ्नै रेखदेखमा ऊर्जा प्रयोजनको लागि आणविक बनाइदिएको थियो । सँगसँगै सोभियत सङ्घको संरक्षण स्वीकारेर ऊ आफ्ना शत्रुराष्ट्र द. कोरिया र अमेरिकाबाट सुरक्षित रह्यो । १९९१ मा सोभियत सङ्घको पतनसँगै त्यो सुरक्षाको प्रत्याभूतिको अन्त्य भयो । त्यसैले तत्कालीन उत्तर कोरियाली राष्ट्रपति किम जोङ इलले सोभियत सङ्घले आफ्नो भूमिमा छाडेर गएको आणविक भट्टीमा रहेको युरेनियमबाट हतियार बनाउने कार्यक्रम घोषणा गरे । अन्तर्राष्ट्रिय कानुनमा प्रतिबद्ध नरहेको राष्ट्रको हातमा आणविक हतियार पुग्नबाट रोक्न सबै कदम चाल्ने अमेरिकाले बतायो । इलको उक्त कार्यक्रम घोषणापछि निर्वाचित तीन अमेरिकी राष्ट्रपति सबैले उत्तर कोरियालाई रोक्न फरक फरक रणनीति प्रयोगमा ल्याए ।
क्लिन्टनले संवाद गरे, बुसले वार्ता भङ्ग गरेर धम्क्याए र ओबामाले पर्ख र हेरको रणनीति अपनाए । तर यी सबै प्रयास आणविक कार्यक्रम रोक्न असफल भए । सन् २००६ मा उत्तर कारियाले दशकौँको प्रयासबाट सो हतियार निर्माण गरिछाड्यो । यो हतियार हासिल गर्न उत्तर कोरियाले गरेको यत्रो प्रयासको कारण छ । किम वंश आफ्नो अस्तित्वरक्षाको एक मात्र विकल्प आणविक क्षमता हासिल गर्नु ठान्छ । सत्ताच्यूत हुनु केही समयअघिसम्म बलियो पकडमा रहेको ठानिएका इराकका सद्दाम हुसेन, लिवियाका मुअम्मर गद्दाफी अमेरिकाको प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेपमा फ्याँकिएबाट तिनको डर सतहहीन लाग्दैन । अझ गद्दाफीले त अमेरिकासँग वार्ता गरेर उसको सुरक्षा प्रत्याभूति हुने शर्तमा आफ्नो आणविक कार्यक्रम बीचमै त्यागेका थिए (यहि सम्झौताका कारण लिवियामका विद्रोहीलाई सघाउन उद्देश्यले नाटोले हमला गर्दा फ्रान्सले नेतृत्व गरेको थियो) । किम वंश आफू त्यो शृङ्खलाको अर्को सिकार नहुन दृढ देखिन्छ । त्यसैले तिनीहरू आणविक हतियार बोक्ने मिसाइल निर्माणमा प्रतिबद्ध देखिन्छन् ।
उत्तर कोरियासँग पन्ध्र सय किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘नोडोङ्ग’ मिसाइल काम गर्ने अवस्थामा छ । साथै उसले सोभियत सङ्घबाट उलेख्य सङ्ख्याका पाएको ‘स्कड’ मिसाइलहरू हजार किलोमिटरसम्म अत्यन्त प्रभावकारी छन् । यो दूरीमा उत्तरको दुई कट्टर दुस्मन द. कोरिया र जापान पर्छन् । त्यहाँ दुई हजारको सङ्ख्यामा अमेरिकी सेनासमेत रहेका छन् । यथार्थमा उत्तर कोरिया यो कुरा चर्को र प्रष्ट पार्न चाहन्छ, जुन ऊ बारम्बार गर्ने छोटो दूरीको मिसाइल परीक्षणबाट गरिरहेको हुन्छ ।
एक त यी परीक्षणहरूले तिनलाई आफ्नो मिसाइल सुधार्ने मौका प्रदान गर्छ । त्योभन्दा महत्वपूर्ण यसले राजनीतिक सन्देश प्रेषण गर्छ । जापान र द. कोरिया उत्तर कोरियामाथि पहिले आक्रमण नगर्नुको कारण तिनले आफ्ना ठूला शहरहरू क्षणभरमै नष्ट गर्ने क्षमता भएका यी मिसाइलहरू देखेका छन् । फेरि तिनीहरूसँग आफ्नै आणविक हतियार पनि छैनन् ।
उत्तर कोरियालाई तनावबीचमा पनि यी दुई मुलुकमाथि पहिलो हमला गर्नबाट एक मात्र अवरोध रहेको छ– अमेरिका । अमेरिकाले जापान र द. कोरियामाथिको आक्रमणलाई आफूमाथिको आक्रमण मानेर आफ्ना सम्पूर्ण क्षमता प्रयोग गर्ने सम्झौता गरेको छ । दोस्रो विश्वयुद्धलगतै भएको सो सम्झौताका कारण आज पनि यी दुई देशमा ठूलो सङ्ख्यामा अमेरिकी सेना तैनाथ छन् । यो व्यवस्थाले उत्तर कोरियाको हात तल परेको छ । अमेरिकासँग उत्तर कोरियासम्म आणविक बम हान्ने प्रविधि रहेको छ तर उत्तर कोरियासँग त्यस्तो छैन । यही बलका आधारमा अमेरिकाले उत्तर कोरियालाई नाकाबन्दी लगाएर बाँकी विश्वबाट एक्ल्याउन सक्छ । यो असन्तुलन हटाउन उत्तर कोरिया अन्तर महादेशीय ब्यालेस्टिक मिसायल हात पार्न यति व्यग्र रहेको हो ।
उत्तर कोरिया आफूले परीक्षण गरिरहेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ‘टाइप्अडङ्ग–२’ मा सफल रहे ऊ अमेरिकासँग तुलनात्मक सन्तुलको स्थितिमा पुग्छ । अमेरिकी भूमि आफै उत्तर कोरियाको निशानामा पर्ने अवस्थामा उसले जापान र द. कोरियालाई दिने सुरक्षाको प्रत्याभूति विश्वसनीय रहँदैन । आफ्नो सुरक्षा चिन्ताले स्वभाविक रूपमा जापान र द. कोरिया आफैले आणविक हतियार बनाउनेछन् । अमेरिकासँगको सन्धिमा बाधिएरको अवस्थाले मात्र आणविक हतियार निर्माण नगरेका यी दुई उच्च सम्पन्न राष्ट्र आणविक बम बनाउन उत्तर कोरियाभन्दा हरेक हिसाबमा सक्षम छन् । यसले आणविक प्रसारको अवस्था निम्त्याउनेछ । शित युद्धपछि आफू नेत्तृत्वको एकल ध्रुवीय विश्वमा अमेरिका पहिले आणविक हतियार भएका राष्ट्रभन्दा थप राष्ट्रले सो हतियारमा पहँुच नपाऊन् भन्ने चाहन्छ । हाल विश्वमा नौ राष्ट्रहरूसँग आणविक हतियार रहेको छ । उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल हासिल गर्नासाथ त्यस अवस्थामा परिवर्तन हुनेछ ।
द. कोरिया र जापानले आणविक हतियार निर्माण गरेमा अरू सबल आणविक हतियारविहीन राष्ट्रहरू (जस्तै जर्मनी, साउदी अरब) पनि आणविक हतियार अप्रसार सन्धिमा बाँधिरहनुपर्ने बाध्यता रहँदैन । त्यसैले अमेरिका अहिले गर कि मरको मुडमा रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प चिनियाँ समकक्षी सी जिनपिङलाई मनाउन निरन्तर कोसिस गरिरहेका छन् ।
आजको दिनमा उत्तर कोरियाको चीनसँग मात्र सीधा व्यापार विनियम चालु छ । यही व्यापारबाट सो राज्यले आफ्ना आधारभूतदेखि सम्पूर्ण आवश्यकता पूरा गर्छ । ट्रम्प चीनले उत्तर कोरियासँग रहेको यही सम्बन्ध पनि कटौती गरोस् भन्ने चाहन्छन् । उनी उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल निर्माणका लागि आवश्यक कुनै स्रोतहरू पनि नपाओस् भन्ने सुनिश्चिता गर्न चाहन्छन् ।
उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल हात पारे परिस्थिति आफ्नो हातबाट बाहिर जाने डरमा अमेरिकाले उत्तरमाथि हालसालै अकस्मात हमला (सर्जिकल अट्याक) गरे आश्चर्य हुने छैन । अमेरिका सो अवस्थामा चीन तटस्थ बसोस् भन्ने चाहन्छ । उत्तर कोरियाले पनि त्यस्तो सम्भावनाको नजरअन्दाज गरेको छैन भन्ने उसको मिसाइल क्षमताको परीक्षण गरिरहेको छ । चीन आफ्ना छिमेकीको व्यबहारबाट खुसी नरहेको देखिए पनि युद्ध भड्किएर आफूसँग लामो सीमा जोडिएको देशभित्र प्रतिस्पर्धी अमेरिकाको सैन्य उपस्थितिको सम्भावनामा बढी अस्वीकार्य मान्छ । ऊ सकेसम्म यथास्थिति कायम होस् भन्ने चाहन्छ । उत्तर कोरियाले थोरै भूभाग रसियासँग पनि जोडिएकाले उसको पनि यसमा सुरक्षा चासो रहने नै छ । आफै अमेरिकाको सानो स्तरको आर्थिक नाकाबन्दीमा रहेको यो देशले अमेरिकाको मनसाय असफल पार्न बाहिरी र गोप्य रणनीति अपनाउने निश्चित छ । यी तथ्यले कोरियाली सङ्कटको जटिलता दर्साउछ र यो क्षेत्रमा युद्ध सुरु भए त्यसले भूमण्डलीय स्वरूप ग्रहण गर्ने देखाउँछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस