काठमाडाैं-आगामी १४ मंसिरमा कास्की– २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी तीव्र भएको छ ।
विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो र कोणसभालाई तीव्र पारेका छन् । बजार, चोक र गल्लीका चिया पसलहरूमा चुनावी जोडघटाउ सुरु भएको छ ।
संविधानसभा र प्रतिनिधिसभाको निर्वाचनमा स्व. रवीन्द्र अधिकारीले ‘ह्याट्रिक’ गरेको यस निर्वाचन क्षेत्रमा कुन पार्टीले बाजी मार्छ भन्ने चर्चा परिचर्चा चलिरहेको छ ।
कास्की– २ बाट निर्वाचित भएपछि पर्यटनमन्त्री भएका अधिकारीको गत १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्व. अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका २१ उम्मेदवार चुनावी मैदानमा छन् ।
नेकपाबाट उम्मेदवार बनेकी रवीन्द्रकी पत्नी विद्या भट्टराई पतिको विरासत जोगाउने योजनामा छन् । नेपाली कांग्रेसबाट उठाइएका पाका सादगी नेता खेमराज पौडेल भने रवीन्द्रको विरासत भत्काउने दाउमा छन् ।
विगतको चुनावी अंकगणितलाई मध्यनजर गर्ने हो भने यस क्षेत्रमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेस नै मुख्य प्रतिस्पर्धी देखिएका छन् । समाजवादी, राप्रपा, साझा पार्टी, नेकपा मालेलगायतका दलका उम्मेदवारहरूले चुनाव आआफ्नै पार्टीले जित्ने दाबी गर्दै आएका छन् ।
यसअघिको निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनले ८ हजार ५६२ मतान्तरले चालिसेलाई पराजित गरेका थिए ।
२०४८ सालमा तत्कालीन एमाले तथा २०५१ र २०५६ सालको निर्वाचनमा कांग्रेस विजयी भएको यस क्षेत्रमा पछिल्लो समय सबै निर्वाचन रवीन्द्रले जित्दै आएका थिए । ६ वटा निर्वाचनमा चार पटक आफूले जितेको विरासत जोगाउन सत्तारूढ नेकपा पनि जोडतोडले कसरत गरिरहेको छ ।
कांग्रेससँगै समाजवादी, साझा र विवेकशील दल पनि जोडतोडले लागेका छन् । समाजवादीका धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसी, विवेकशीलकी जमुना शर्मा र अन्य उम्मेदवार घरदैलो र चुनावी प्रचार प्रसारमा व्यस्त छन् । सबै उम्मेदवारले चुनाव जित्ने दाबी गरे पनि मुख्य प्रतिस्पर्धा नेकपा र कांग्रेसबीच नै हुने निश्चित जस्तै छ ।
४७ वर्षीया भट्टराई त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएर चुनावमा होमिएकी हुन् । रवीन्द्रप्रतिको माया र सद्भावसँग आफ्नो उम्मेदवारी जोडिएको भन्दै उनले शोकलाई शक्तिमा बदल्न उम्मेदवारी दिएको बताउँदै आएकी छन् ।
भट्टराईले दिवंगत रवीन्द्र अधिकारीको सपनालाई पूरा गर्न र विकास निर्माणको कार्यलाई प्राथमिकता राख्ने वाचासहित मतदातालाई आकर्षित गर्न जुटेकी छन् ।
उनले पोखरालाई उत्कृष्ट पर्यटकीय स्थल बनाउने, समयमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, उद्यमशील युवा र आत्मनिर्भर महिला, एक घर, एक रोजगार र समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सघाउने एजेन्डा अघि सारेकी छन् ।
‘पार्टीले धेरै पटक चुनाव जितेको, नेकपाको वर्चस्व कायम भएको र रवीन्द्रको प्रभाव क्षेत्र भएका कारण यस क्षेत्रबाट चुनाव जित्ने कुरामा कुनै शंका छैन’, उनले भनिन्, ‘आलो घाउकै अवस्थामा चुनावी मैदानमा आएकी छु, चुनाव जितेर शोकलाई शक्तिमा बदल्नु र रवीन्द्रका अधुरा सपना पूरा गर्नु छ ।’
बहुदल आएपछि भएका ६ वटा संसदीय निर्वाचनमा यस क्षेत्रमा ५ पटक नेकपाले चुनाव जितेको छ । यहाँ एक पटक मात्र कांग्रेसले निर्वाचन जितेको छ । नेकपाको पकड क्षेत्र मानिएको यस क्षेत्रमा रवीन्द्रकै श्रीमती विद्या चुनावी मैदानमा रहेकाले उनले जित्ने निश्चित रहेको केही पोखरेलीको अनुमान छ ।
दुई मुख्य प्रतिस्पर्धीमध्येका कांग्रेसका उम्मेदवार खेमराज पौडेलले चुनाव जित्ने तर्क गर्नेहरूको समेत यहाँ कमी छैन । उनीहरू यस पटकको चुनावमा कांग्रेसमा गुट, उपगुटको राजनीति नभएकाले पौडेलले जित्ने दाबी गर्छन् । उम्मेदवार पौडेल त्यागी र इमान्दार नेताका रूपमा परिचित छन् तर युवापुस्तामा भने उनी त्यति परिचित छैनन् ।
७४ वर्षीय कांग्रेसका उम्मेदवार पौडेलले उपनिर्वाचन जितेर सरकारको ‘अलोकप्रियताको स्वाद’ चखाउने बताए । २०१७ सालदेखि निरन्तर ७४ वर्षको उमेरसम्म नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीमा बसेर बिताएका उनी निष्ठावान् नेताका रूपमा चिनिन्छन् । लामो समय शिक्षण पेसामा बिताएका उनी ‘खेमराज गुरु’का नामले समेत परिचित छन् ।
चुनावी अभियान सशक्त ढंगले अघि बढेको बताउँदै पौडेलले यस चुनावमा कांग्रेसका नेता, कार्यकर्ता एक ढिक्का भएर लागेकाले चुनाव जित्नेमा ढुक्क रहेको बताए । ‘पार्टीका नेता, कार्यकर्ता एक ढिक्का भएर मलाई साथ दिएकाले चुनाव जित्नेमा ढुक्क छु’, उनले भने, ‘मेरा विद्यार्थी, समकक्षीलगायत शुभेच्छुकहरूको सहानुभूतिले ऊर्जा थपेको छ ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको कुशासन र भ्रष्टाचारले मुलुक आक्रान्त बनेकाले जनताले त्यसको सजाय स्वरूप कांग्रेसलाई विजयी गराउने उनले बताए । ‘सरकारले जनताको दैनिक जीवन स्तरमा सकारात्मक प्रभाव पार्ने काम गर्न सकेन । मुलुकमा भ्रष्टाचार, महँगी, अन्याय र अत्याचारले सीमा नाघ्यो’, उनले भने, ‘जनताले कम्युनिस्ट सरकारको रवैया बुझिसकेका छन् । अब जनताले यस पार्टीको विकल्प खोजिरहेका छन् ।’
नेपाली कांग्रेसले यस सरकारले राम्रोसँग जनसरोकारका काम गरोस् भन्ने चाहेको तर सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको उनले आरोप लगाए । पटक पटक एउटै दलले निर्वाचन जितेर पनि विकास निर्माण र पूर्वाधार निर्माणमा खासै चासो नदिएका कारण जनताले यस पटक नेपाली कांग्रेसप्रति उच्च चासो देखाएको पौडेलको दाबी छ ।
‘सरकारका गलत कार्यलाई रोक्न र निरन्तर खबरदारी गर्न मेरो जीत आवश्यक छ,’ उनले भने, ‘सरकारले राष्ट्रियता, लोकतन्त्र, संघीयता कमजोर बनाएको छ, यसलाई कांग्रेसले सशक्त रूपमा रोक्नेछ ।’
लामो समयसम्म नेपाली कांग्रेसका भ्रातृसंगठनहरूमा बसेर काम गरेकी रजनी केसी चुनावको केही समयअघि कांग्रेस छाडेर साझा पार्टीकी उम्मेदवार बनेकी छन् । रजनीले कांग्रेसका कार्यकर्ताको मत काट्ने अनुमानसमेत गरिएको छ । रजनीले विशेषगरी कांग्रेस र युवा पुस्ताका स्वतन्त्र भोट पाउने पोखरेलीको अनुमान छ ।
उम्मेदवार रजनी केसीले जनताले आफू र पार्टीप्रति गरेको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने बताइन् । उनले साझा पार्टी भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै देश विकास र राष्ट्रको नेतृत्व लिन चुनावी मैदानमा होमिएको स्पष्ट पारिन् ।
‘योग्यता र क्षमता भएकाले भन्दा पार्टीका कार्यकर्ताले प्रथामिकता पाउन थाले । योग्यता भएकाहरू देशमा बस्न सक्ने अवस्था भएन’, उनले भनिन् ।
पुराना दलका कारण असल राजनीतिज्ञले देश विकास गर्लान् भन्ने विश्वास ध्वस्त भएको उनले बताइन् । ‘गएको ३० वर्षदेखि चुनाव जितेर गएकाहरूले आफू र आफ्नो परिवार बनाए, जनतालाई जहाँको त्यहीँ छाडे,’ उनले भनिन्, ‘त्यसले गर्दा देशमा असल राजनीतिज्ञ छन् र देश परिवर्तन गर्लान् भन्ने जनतामा विश्वास छैन ।’
समाजवादीका उम्मेदवार धर्मराज गुरुङले राज्यमा समृद्धि र सुशासन कायम गर्न चुनाव लडेको बताए । ‘यहाँ कानुन छ तर कार्यान्वयन छैन’, उनले भने, ‘भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम राख्न मेरो उम्मेदवारी हो । जनताले पक्कै विश्वास गर्नुहुनेछ ।’
त्यसैगरी नेपाली कांग्रेस (बीपी)बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिस्ट पार्टी (माले)बाट टेकनाथ भण्डारी, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्लले आआफ्ना चुनाव प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।
त्यसैगरी स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका उमानाथ गौतम, कमलजंग कुँवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला र सुनिल भुसाल आआफ्ना चुनाव चिह्न र नेता कार्यकर्तासहित मतदाताको घरदैलोमा पुगिररहेका छन् ।
अहिले निर्वाचन हुन लागेको कास्की– २ मा ७१ हजार ८७१ मतदाता छन् । पोखरा महानगरपालिकाका ११ वटा वडा यस निर्वाचन क्षेत्रअन्तर्गत पर्छन् । नगरपालिकाका वडा नं. ४,७, ८, ९, ११, १५, १६,१७, २०, २१ र ३३ उक्त निर्वाचन क्षेत्रमा पर्छन् ।
अहिले कास्कीमा चुनाव लडेका सबै उम्मेदवार नयाँ अनुहारका नेताहरू छन् । उनीहरूले यस क्षेत्रमा ह्याट्रिक गरेका रवीन्द्रको जस्तो व्यक्तित्व स्थापित गर्न सकेका छैनन् । रवीन्द्र मतदातासँग सजिलै भिज्न सक्ने नेता भएकाले कास्कीमा उनको उचाइ बढिरहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस