अधिकांश युवाले कोरिया गएर मनग्य पैसा कमाएर जीवनस्तर परिवर्तन गर्ने सपना बुनेका हुन्छन् । यो सपना कतिपयको सफल हुन्छ, कतिपयको अधुरै । उसो त नेपाली युवाका लागि वैदेशिक रोजगार बाध्यता बनेको छ । अधिकांश युवा खाडी मुलुक र मलेसिया भासिन्छन् । केही युवा आम्दानीका हिसाबले आकर्षक मानिएको कोरिया पुग्न सफल भएका छन् । कोरिया पुग्न पनि मेहनत चाहिन्छ । पुगेपछि झन् धेरै मेहनत गर्नुपर्छ ।
कोरियन रोजगारका लागि कतिले भाषा पास गर्न निरन्तर पढेका हुन्छन् । लगातार पढे पनि धेरै त असफल भएका छन् । कतिले लगातारको प्रयासपछि कोरियामा रोजगार गरेर स्वदेश फर्किसकेका छन् । पछिल्लो समय कोरिया जाने युवाको चाहना र संख्या बढ्दो छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान अधिकांश युवा लालायित देखिन्छन् । पछिल्लो समय पनि कोरिया जान हजारौं युवाले आवेदन दिएका छन् । कम्तीमा १० हजार नेपाली युवा कोरिया लैजाने ईपीएसको तयारी छ तर त्यसका लागि दस गुणाभन्दा बढीले फारम भरेका छन् । कोरियामा जीटुजीमार्फत सन् २००८ देखि लगातार नेपाली कामदार गइरहेका छन् । केही गरौं भन्ने युवाका लागि कोरिया आकर्षक गन्तव्यभित्रको मुलुक हो ।
कोरियामा झन्डै पाँच वर्ष बिताएका प्यूठान ऐरावती गाउँपालिकाका सुशील थापा कोरियाको रोजगारीले जीवनमा निकै सकारात्मक परिवर्तन भएको अनुभव सुनाउँछन् । भन्छन्, ‘कोरियन रोजगारीले मलाई धेरै सिकाएको छ, म सन्तुष्ट नै छु ।’ उनी कोरियाबाट हालैमात्र स्वदेश फर्किएका छन् । अब स्वदेशमै कुनै व्यवसाय गरेर बस्ने उनको सोच छ । उनले कोरिया जानका लागि सन् २०१० मा कोरियन भाषा परीक्षा दिएका थिए । उनी पहिलोपटक असफल हुँदा पनि हार मानेनन् । भन्छन्, ‘मैले हिम्मत हारिनँ, फेरि परीक्षा दिएँ र पास भएँ ।’
उनले स्वदेशमै जागिर खान चाहेनन् । नेपालमा जागिरको कमाइले जीवनमा कुनै प्रगति हुन सक्दैन कि भन्ने उनलाई लागेको थियो । उनका दाइहरूले सरकारी जागिर खाएका थिए । ‘उहाँहरू जागिरमा सन्तुष्ट नभएका कारण मैले कहिल्यै सरकारी जागिर खाने विचार गरिनँ’, उनले भने । अभावको जिन्दगी भोगेका थापाले कोरियामा पाँच वर्ष बिताउँदा परि श्रमको महत्वव पनि राम्रैसँग बुझेको बताउँछन् ।
लेखक
पहिलोपटक कोरियन भाषा परीक्षामा फेल भएपछि उनले जापान जाने सोच बनाएका थिए । जापानका लागि चिनेका र भरपर्दो मानिस नभएपछि उनले त्यो चाहना बढाउन सकेनन् । त्यसपछि उनले पोल्यान्ड जान अन्तर्वार्ता दिए र पास पनि भए । पोल्यान्ड जान पैसाको जोहो गर्दै थिए । तर कोरियाको भाषा परीक्षा छिटै हुने सुनेपछि उनको सोचाइ बदलियो । उनी कोरियन भाषा पढ्न काठमाडौं हानिए ।उनी पुनः डिल्लीबजारको एक इन्स्टिच्युटमा कोरियन भाषा पढ्न थाले । पहिला पनि पढेकाले उनलाई सहज भयो । भाषा परीक्षामा उनी पास भए । कोरिया जाने रोस्टरमा परेको केही समय र प्रक्रियापछि उनी कोरिया पुगे ।
कोरियाले कठोर मेहनतको पाठ मज्जाले सिकाएको छ । त्यति नै मेहनत यहाँ गर्न सके यहीँ मनग्य आम्दानी हुनसक्ने थापा र केसीको अनुभव छ ।
उनले कोरियामा गेरेन्डिङ र वेल्डिङमा काम थाले । सुरुमै एक लाख ६२ हजार पारि श्रमिक बुझेपछि उनको खुसीको सीमा रहेन । पैसा धेरै आए पनि काम गाह्रो भएपछि उनले कम्पनी परिवर्तन गर्दै गरे । ‘म दक्षिण कोरियामा करिब पाँच वर्ष काम गरेर स्वदेश फर्किएँ’, थापा भन्छन्, ‘कोरियामा बसेर नसोचेको परिवर्तन भयो । मेहनतको महत्वव बुभियो, अब नेपालमै केही रचनात्मक काम गर्छु ।’ शिक्षण पेसामा केही वर्ष काम गरेका मुसीकोट नगरपालिका–६, रुकुमका एकराज केसी यति बेला कोरियामै कार्यरत छन् । उनी दिनरात खटेर काम गरिरहेको बताउँछन् ।
उनले कोरिया जाने सपना बुन्दै २०७० असारमा काठमाडौं आएर भाषा पढेका थिए । कतिपयले दुई वर्षमा पनि निकाल्न नसक्ने नाम उनले दुई महिना पढेर निकाले । उनी खुसीले गद्गद् भए । उनले होस्टेलमा बसेर आठ घन्टा लगातार भाषा पढे र नाम निकाल्न सफल भएको सुनाए । हाल कोरियामा दुःख भए पनि जीवनमा आर्थिक परिवर्तन हुन सकेकोमा उनी खुसी छन् ।
श्रीसाईकुमारी निम्न माध्यमिक विद्यालय मुसीकोटमा सात वर्ष अध्यापन गराएका केसी भन्छन्, ‘शिक्षण पेसाबाट परिवार धान्न मुस्किल भयो, अनि कोरियाको बाटो रोजेको हुँ ।’ कोरिया पुगेपछि छोटो समयमा पनि आर्थिक सबलीकरण हुने देखेर उनले सरकारी जागिर छोड्न अप्ठ्यारो मानेनन् । हाल उनी कोरियामा मासिक डेढ लाखभन्दा बढी कमाउँछन् । बेरोजगार युवालाई सकेसम्म स्वदेशमै रोजगारीको व्यवस्था गर्न आवश्यक भएको उनी ठान्छन् । स्वदेशमा जस्तो राम्रो विदेशमा नहुने उनको अनुभव छ । विदेश जानु नै पर्ने भए राम्रोसँग बुझेर पूर्ण जानकारी लिएरमात्र जानुपर्ने उनी सुझाव दिन्छन्।
ईपीएस कोरिया शाखाका अनुसार र्ईपीएसमार्फत २० हजार युवा कोरियामा काम गरिरहेका छन् । यतिखेर कोरियन भाषाको नतिजामा हजारौं प्रतीक्षारत छन् । ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडा कोरियन रोजगारीमा युवाको आकर्षण बढ्दै गएको बताउँछन् । ‘धेरै नेपालीलाई अवसर दिनका लागि हामीले कोरियाली सरकारसँग निरन्तर समन्वय गर्दै आएका छौं’, उनले भने । कोरिया नेपाली कामदारसँग सन्तुष्ट भएकाले पनि नेपालीले पाउने कोटा बढ्दै गएको छ । ईपीएस शाखाका निर्देशक खतिवडा भन्छन्, ‘भाषा पास गरेका सबैले कोरिया जाने अवसर भने पाउँदैनन् ।’
थापा र केसीमात्र होइन, कोरिया रोजगारीले हजारौं नेपालीको जीवनस्तर माथि उठेको छ । कोरियाले कठोर मेहनतको पाठ मज्जाले सिकाएको छ । त्यति नै मेहनत यहाँ गर्न सके यहीँ मनग्य आम्दानी हुनसक्ने थापा र केसीको अनुभव छ ।
-अन्नपुर्ण पोष्ट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस