काठमाडौं – ‘एयर फोर्स टु’ मा ३० हजार फिटमाथिबाट दक्षिण कोरियातर्फ उडान भर्दै गर्दा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफ भएको समाचार थाहा पाए। उपराष्ट्रपति पेन्स त्यस्तो स्थानमा जाँदै थिए, जहाँ उनका पिता सेकेण्ड लेफ्टिनेन्ट एडवार्ड पेन्स जुनियरले कोरियाली युद्ध लडेका थिए र त्यसबापत एक तक्मा पनि प्राप्त गरेका थिए। त्यसको ६४ वर्षपछि उपराष्ट्रपतिका रुपमा अझै पनि तनावग्रस्त कोरियाली प्रायद्वीपको यात्रा गर्दैगर्दा पेन्स पितालाई सम्झेर भावुक पनि भएछन्।
केही सातायता कोरियाली प्रायद्वीपमा तापक्रम निकै बढेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको धम्कीको जवाफ उत्तर कोरियाले पनि उही भाकामा दिइसकेको छ, ‘हामी आणविक आक्रमणको बदला आणविक आक्रमणबाटै दिन तयार छौँ।’
दक्षिण कोरियामा उत्रिएपछि पेन्सले दक्षिण कोरियासहितका मित्र राष्ट्रहरुप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए र उत्तर कोरियाको मामिलामा ‘रणनीतिक धैर्यताको युग समाप्त भएको’ घोषणा गरे। तर लगत्तै उत्तर कोरियाका उपविदेशमन्त्रीले आफूले ‘हप्तैपिच्छे, महिनैपिच्छे र वर्षैपिच्छे’ क्षेप्यास्त्र परीक्षण गर्ने बताउँदै अमेरिकी धम्कीबाट आफू अविचलित रहेको सन्देश दिए।
गत नोभेम्बरमा ट्रम्पले चुनाव जित्दै गर्दा विश्वभरका अमेरिका पक्षधर राष्ट्र तथा विचारकहरुको एउटै चिन्ता थियो, अमेरिकाले दिँदै आएको आडभरोसा ट्रम्पले नदेलान्। जलवायुका मुद्दादेखि लिएर सैन्य सहयोगसम्मका विषयमा यही चिन्ता थियो।
ट्रम्पले सत्ता सम्हालेको एक महिना नपुग्दै उनको प्रशासनको पहिलो विदेश भ्रमणका रुपमा रक्षामन्त्री जेम्स म्याटिसले दक्षिण कोरिया र जापानको भ्रमण गरे र उनीहरुलाई आश्वस्त तुल्याए। मार्चको मध्यमा पनि विदेशमन्त्री रेक्स टिलरसनले तिनै देशको भ्रमण गरे र त्यही वचनबद्धता दोहो¥याए। हालै उपराष्ट्रपति पेन्सले पनि दक्षिण कोरियाबाटै आफ्नो एसिया भ्रमण सुरु गरेका छन्। टिलरसन र पेन्स दुवैले उत्तर र दक्षिण कोरियाको सीमानामा अवस्थित सन् २०१२ मा राष्ट्रपति बाराक ओबामाले भ्रमण गरेको ‘डिमिलिटराइज्ड जोन’ पुगेर उत्तर कोरियातिर दूरबीन लगाएर हेरे।
हुन त गत केही महिनामा ट्रम्पले आफ्नो भनाइ र गराइमा थुप्रै परिवर्तन गरिसकेका छन्। अधिकांशको अपेक्षाविपरीत रुससँग उनको प्रशासनको सम्बन्ध झनै गञ्जागोल भएको छ। चीनसँगको व्यापारिक सम्बन्धमाथि खतरा उत्पन्न गर्ने खालको अभिव्यक्ति दिएर तहल्का मच्चाएका ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगै चकलेट केक खाँदै सिरियामा ५९ तोमाहक मिसाइल आक्रमण गर्ने आदेश दिन भ्याइसके। सिरियाको सो आक्रमण, अफगानिस्तानमा ‘मदर अफ अल बम्ब्स’ प्रहारजस्ता कुरा पनि उनले पहिले लिँदै आएको अडानविपरीत देखिन्छ। नेटो तथा अमेरिकी सहकार्यमा रहेका देशहरुप्रतिको उनको धारणामा पनि आकाशपातालको परिवर्तन भइसकेको छ।
यसबीचमा ट्रम्प प्रशासनका मन्त्रीहरुको भ्रमण, उनको ट्वीट, आदि अध्ययन गर्दा अमेरिका उत्तर कोरियाप्रति साँच्चै नै चिन्तित भएको आभाष पाउन सकिन्छ।
तनावको शृंखला
उत्तर कोरियाको आणविक कार्यक्रमको इतिहास शीतयुद्धको सुरुवातसम्मै पुग्दछ। सन् १९५६ पछि तत्कालीन सोभियत युनियनको सहायतामा उसले आणविक कार्यक्रम सुरु गरेको थियो। तर त्यसले गति भने सन् २००२ र २००३ को तनावपछि लियो, जब बुस प्रशासनले उत्तर कोरियालाई ‘एक्सिस अफ इभिल’ घोषित गर्यो।
सन् २००६ मा पहिलो आणविक परीक्षण गरेको उत्तर कोरियाले त्यसयता पाँच ओटा यस्ता परीक्षण गरिसकेको छ। विशेषज्ञहरुका अनुसार उसका यी परीक्षणहरु आधुनिक र सुविधासम्पन्न बन्दै गएका छन्। आर्थिक नाकाबन्दीका बावजूद उत्तर कोरियाले यसमा उल्लेख्य प्रगति गरिरहेको छ। र यसबेला यो विषय त्यस्तो विन्दुमा पुगिसकेको छ, जहाँबाट न त पछि फर्किन सहज छ, न शक्तिराष्ट्रहरु यसलाई नजरअन्दाज गरेर अघि बढ्न सक्छन्।
सैन्य विशेषज्ञहरुका अनुसार उत्तर कोरियाको आणविक शक्तिले अमेरिकाको क्यालिफोर्नियासम्मै खतरा पैदा गर्छ। उत्तर कोरियासँग लामो दूरीको आणविक हतियारै नभए पनि उसले दक्षिण कोरिया र जापानमाथि ठूलो क्षति पु¥याउन सक्ने विश्वास गरिन्छ। तसर्थ युद्धतर्फ धकेलिनु अमेरिका र उसका सहयोगी राष्ट्रहरुका लागि पनि उत्तिकै खतरनाक रहेको बताइन्छ।
किन चाहन्छ उत्तर कोरिया आणविक हतियार?
यति धेरै तनाव सिर्जना गर्ने आणविक हतियारको विकास उत्तर कोरिया जुनसुकै मूल्यमा किन गर्न चाहन्छ त? विशेषज्ञहरुले यसको अनेक कारण दिएका छन्। आफूसँग रक्षाका लागि आणविक हतियार नभए ‘अमेरिकी साम्राज्यवाद’ ले आक्रमण गर्ने डर उसलाई छ। उत्तर कोरियाको यो डरलाई उसको मूर्ख शासकको बौलठ्ठीपूर्ण सोच मात्र मान्न सकिन्न। किनभने गत सात दशकमा अमेरिकाले कूटनीतिक, सैन्य र गुप्तचरी हस्तक्षेप गरेका राष्ट्रहरुको सूची अरुलाई याद भए वा नभए पनि उत्तर कोरियाले तिनको संख्या गिन्ती गरेको हुनुपर्छ।
विश्वभरका सञ्चारमाध्यममा ‘निर्दयी तानाशाह’ का रुपमा चित्रित किम जोङ उन खतरनाक व्यक्तिका रुपमा परिचित छन्। उनले आफ्नै परिवारका सदस्यलाई तोपले उडाएको विश्वास गरिन्छ। उत्तर कोरियाली जनतालाई उनले पशुसरह व्यवहार गर्ने गरेको समाचार बेलाबखत आइरहन्छन्। उसो त मत नमिलेका व्यक्ति, समुदाय र राष्ट्रलाई दानवीकरण गर्ने चलन नयाँ होइन।
सायद किम जोङ उनले पनि त्यसै गर्दै आइरहेका होलान्। तर पश्चिमा कथ्यमा मात्र होइन, कूटनीतिमा पनि अमेरिकी एकाधिकारको झल्को पाउन सकिन्छ। उत्तर कोरियाले विश्वका राष्ट्रहरुसँग सम्बन्ध सुधार्नु भन्नुको अर्थ अमेरिकी प्रशासनसँग सम्बन्ध सुधार्नु हो। किनभने अमेरिकालाई छलेर उत्तर कोरियाले कुनै पनि देशसँग सम्बन्ध कायम गर्न सम्भव छैन। यस्तोमा उत्तर कोरिया मात्रै नभइ थुप्रै राष्ट्रलाई ‘हेजेमोनिक स्ट्याबिलिटी’ मा आधारित विश्व व्यवस्था अन्यायपूर्ण महसुस भइरहेको देखिन्छ। समर्थकहरु अमेरिकी नेतृत्वले विश्वलाई सुरक्षा प्रदान गरेको तर्क गर्छन्। वास्तवमा दुर्बल राष्ट्रहरुका लागि यो विश्व व्यवस्था न त सुरक्षित थियो, न न्यायपूर्ण नै।
उत्तर कोरियाको आणविक चाहनाको अर्को कारण हुनसक्छ, त्यसले दिने आत्मविश्वास। आफूसँग हतियार भए त्यसलाई देखाएर सौदा गर्न सकिन्छ भन्ने उसले सोचेको हुनुपर्छ।
त्यस्तै आर्थिक रुपमा आफूभन्दा सम्पन्न दक्षिण कोरियामाथि आफ्नो उच्चताभाषलाई कायम गर्न पनि उत्तर कोरिया आणविक हतियारको पछि लागेको विश्लेषण गरिन्छ।
सहज छैन समाधान
‘आर्ट अफ द डिल’ नामक पुस्तक लेखेका ट्रम्प आफूलाई ‘नेगोसिएसन’ मा अब्बल ठान्छन्। तर उत्तर कोरिया समस्या समाधानका लागि उनले चालेका कदम आलोचनाविहीन छैन। सर्वप्रथम त उनले उत्तर कोरिया ‘समस्यामा पर्न चाहिरहेको’ बताए। त्यसपछि चीनले साथ दिए ठीकै छ, नत्र आफू एक्लैले समस्या समाधान गर्न सक्ने धम्की पनि दिए। त्यसपछि युद्ध बेडालाई कोरियाली प्रायद्वीपतर्फ मोड्न लगाए र उत्तर कोरियानजिक आफ्ना ‘स्ट्राइक ग्रुप’ तैनाथ गराए।
हालै दक्षिण कोरिया पुगेका उपराष्ट्रपति पेन्सले पनि अफगानिस्तान र सिरियाको उदाहरण दिँदै उत्तर कोरियालाई ट्रम्पको ‘संकल्पको परीक्षा नलिन’ चेतावनी दिए। यसबाट के स्पष्ट हुन्छ भने ट्रम्प प्रशासन उत्तर कोरियालाई धम्क्याएर ठीक पार्न चाहन्छ। तर उसको यो रवाफिलो रवैया सफल होला त?
यो विषयलाई नजिकबाट नियालिरहेका थुप्रै विश्लेषकहरु यो तरिकाले समस्या समाधान नहुने बताउँछन्। बरु यो रवैयाबाट ट्रम्प आफैँ समस्यामा पर्ने मत उनीहरुको छ किनभने आक्रमणको धम्की दिनु सजिलो छ, त्यसलाई असंख्य मानिसहरुको ज्यानको जोखिम मोलेर कदम चाल्नु पक्कै सजिलो छैन।
त्यसैले युद्धको धम्की होइन, आर्थिक नाकाबन्दीले नै उत्तर कोरियालाई गलाउनुपर्छ भन्नेहरुको संख्या धेरै छ। तर गएको दशकमा संयुक्त राष्ट्रसंघीय आर्थिक नाकाबन्दीबाट पनि उत्तर कोरिया गल्ने स्थिति उत्पन्न भएको छैन। यो कुरा उसले भव्य सहर निर्माण र पटकपटकको आणविक परीक्षणमार्फत पुष्टि गरिसकेको छ। पश्चिमाहरु नाकाबन्दीको यो दोष चिनियाँ कम्पनीहरु र सरकारलाई दिन्छन् र उत्तर कोरियासँग व्यापारमा सलंग्न चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाउनुपर्ने तर्क गरिरहेका छन्। तर यो उपायले पनि विद्यमान तनावलाई घटाउनेभन्दा बढाउने नै निश्चित छ।
ट्रम्पले चीनको सहयोगबिनै कोरियाली समस्या समाधान गर्ने दाबी गरे पनि त्यो त्यति सहज छैन। किनभने कोरियाली प्रायद्वीपको भूराजनीतिमा चीन प्रमुख खेलाडी हो। केही समययता उत्तर कोरिया र चीनबीच केही तनाव देखिएको छ। चीनले उत्तर कोरियाबाट कोइला आयातमा कमी गरेको छ भने तेल निर्यात बन्द गर्ने धम्की पनि दिएको छ। ‘सूर्य दिवस’ अर्थात् किम इल सुङको १०५ औँ जन्मदिवसमा आयोजित यस वर्षको सैन्य परेडमा पनि चिनियाँ प्रतिनिधि उपस्थित भएनन्। तर यसमै चीनले आफ्नो भूरणनीतिक स्वार्थलाई दाउमा राख्ला भन्ने अपेक्षा गर्न सकिन्न। अर्थात् अमेरिकाले उत्तर कोरियामा हात हाल्ने परिस्थिति आएमा कोरियाली युद्धको पुनरावृत्ति नहोला भन्न सकिन्न।
सोभियत संघको पतनपछि एक ध्रुवीय बनेको विश्व बदलिने क्रममा रहेको विश्लेषण चलिरहँदा केही समयअघिको स्वीट्जरल्याण्डस्थित डाभोसमा आयोजित ‘वर्ल्ड इकोनोमिक फोरम’ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफू विश्वको नयाँ नेतृत्वका लागि तयार भएको संकेत गरे। तर चीन वा अन्य कुनै राष्ट्रको नेतृत्वमा रहने विश्व अमेरिकी नेतृत्वकै फोटोकपी भएमा वा अमेरिकी जुत्तामा चिनियाँ गोडा मात्रै भएमा त्यसले समाधान नदिने निश्चित छ।
आणविक संकटको विषयमा चीनले उत्तर कोरिया र अमेरिका दुवै पक्षलाई शान्त रहन आग्रह गरिरहेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले एकअर्कालाई धम्क्याउने काम छोडेर शान्तिका लागि कदम चाल्न दुवै राष्ट्रलाई आग्रह गरेका छन्। ‘युद्धको परिस्थिति सिर्जना भएमा सबैले हार्ने र कसैले नजित्ने’ दाबी उनले गरेका छन्। उनले स्पष्ट शब्दमा ‘कठोर शब्द बोल्ने वा ठूलो मुड्की उज्याउने’ पक्ष विजयी नबन्ने उल्लेख गरेका छन्। चीनले उत्तर कोरिया र अमेरिकाबीचको तनाव मत्थर गर्न सघाउन रुसलाई पनि आग्रह गरेको छ।
त्यसबाहेक अमेरिकाले दक्षिण कोरियामा स्थापना गरिरहेको ‘टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स’ (थाड) पनि चीनका लागि टाउको दुखाइको विषय हो। त्यसैले बारम्बार चीनले सो कुराको विरोध गरिरहेको छ र सायद उत्तर कोरियाको आणविक संकटलाई पनि त्यसमा जोडेर कदम चाल्नेछ।
कूटनीतिक पहलबाट तत्कालको तनाव मत्थर भइहाले पनि यो समस्या सजिलैगरी दीर्घकालीन रुपमा समाधान हुने छाँट देखिँदैन। उत्तर कोरियालाई आणविक शक्तिसम्पन्न राष्ट्रका रुपमा स्वीकार गर्न पनि थुप्रै समस्या छ। उसलाई आणविक कार्यक्रम त्याग्न बाध्य बनाउने परिस्थिति सिर्जना गर्न झनै मुस्किल देखिन्छ।
त्यसैले यसको पूर्ण समाधान तब मात्रै सम्भव छ, जब उत्तर कोरिया स्वेच्छाले आणविक कार्यक्रम त्याग्न तयार हुन्छ। त्यो वातावरण तयार पार्ने जिम्मेवारी पक्कै पनि विश्वको नेतृत्व गरिरहेका शक्तिशाली राष्ट्रहरुकै हो। आणविक शक्तिसम्पन्न राष्ट्रलाई बिनाकुनै लेनदेन झुकाउन अवश्य पनि सहज छैन। त्यसमाथि कुनै देश होस् या विश्वव्यवस्था, नेतृत्व गर्नेले मन नै जित्नुपर्छ। अन्याथा यी देशले गर्ने ‘मिसक्याल्कुलेसन’ को मूल्य विश्वले आणविक त्रासदीका रुपमा भोग्नुपर्ने हुनसक्छ वा अर्को ६४ वर्षपछि पनि यो समस्या उस्तै नरहला भन्न सकिन्न।
एजेन्सीहरुको सहयोगमा
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस