काठमाडौं- समाजवादी पार्टीसँगको एकीकरणलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद कायमै छ। पार्टी एकता पहिले कि महाधिवेशन पहिले भन्ने विषयमा पार्टीमा विवाद देखिएको हो।
राजपा नेपाल अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारी उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्ने अडानमा छन् भने राजपा नेपालका अध्यक्षमण्डका संयोजक राजकिशोर यादव, अध्यक्षमण्डलका सदस्यद्वय अनिलकुमार झा र महन्थ ठाकुर पार्टीको महाधिवेशन सम्पन्न गरेर एकीकरणमा जाने अडानमा छन् ।
यही विवादका कारण राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा रहेका वार्ता समिति नै भङ्ग गर्ने निष्कर्षमा पार्टी पुगेको छ। वार्ता समितिका संयोजक रहेका महतोले समाजवादी पार्टीसँग वार्ता गर्ने तर, त्यसको जानकारी पार्टीलाई नदिने गरेपछि पार्टीले वार्ता समिति नै भङ्ग गर्नुपर्नेे निष्कर्ष निकालेको नेता केशव झाले बताउने गरेका छन्।
महतो समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुसँग एकीकरणका बारेमा दिनहुँ जसो छलफल गर्ने गरेका छन्। तर, पार्टीले त्यसको बारेमा जानकारी माग्दा ‘केही पनि भएको छैन’ भनेर अन्योलमा राख्ने गरेको नेता झाले बताए। राजपा नेपालका महासचिव समेत रहेका झाले राजेन्द्र महतोका कारण पार्टी एकीकरणको प्रकृया विवादमा परेको घुमाउरो पारामा बताए। ‘समाजवादी पार्टीका नेताहरुसँग दिनरात छलफल गर्नुहुन्छ, त्यो कुरा मिडियामा पनि चुहाउनु हुन्छ तर, पार्टीले सोध्दा एकीकरणको कुनै प्रगति भएको छैन भन्नुहुन्छ,’ उनले भने।
महतोले पार्टी र पार्टीका कार्यकर्तालाई गुमराहमा राखेको ती महासचिवको दावी छ । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले केही दिन पहिले मधेशी पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा भनेका थिए, ‘एकीकरणको बारेमा राजेन्द्र महतोसँग आफूले सोध्दा केही पनि भएको छैन, एकीकरणको नाममा एक कप चिया पनि खाएको छैन भन्नुहुन्छ।’
तर, महतोले उपेन्द्र यादवसँग पटक–पटक विभिन्न ठाउँमा छलफल गरिसकेका छन्। महतो आफैंले पनि सञ्चारकर्मीसँग वार्ता र छलफल सकारात्मक रुपमा भइरहेको तर ठोस प्रगति केही नभएको प्रतिकृया दिएका थिए। तर, उनले पार्टीको बैठकमा भने ‘खासै छलफल नभएको’ जानकारी गराएका थिए ।
यता, समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया दुवै दलको बीचमा सकारात्मक छलफल भइरहेको र एकीकरणको नजिक नजिक पुगिसेको बताउँछन्। यद्यपि, सबै कुरा टुङ्गोमा नपुगेसम्म प्रगतिको कुनै अर्थ नरहने उनको भनाइ छ।
पार्टीको महाधिवेशनपछि राजपा नेपालमा एकल अध्यक्ष प्रणालीमा पार्टी जाने निश्चित भएको छ। त्यो कुरा विधानमै उल्लेख गरिसकेको छ। लगभग महन्थ ठाकुर अध्यक्ष बन्ने निश्चितजस्तै छ। अन्य नेताहरुको व्यवस्थापन कसरी गर्ने निश्चित भएको छैन। त्यही कारण महतोले आफूलाई व्यवस्थापन गर्न समाजवादी पार्टीसँग एकीकरण गर्न हतार गरेको बुझाइ अन्य नेतामा छ।
समाजवादी पार्टीसँग एकतापछि चारजना अध्यक्ष राख्ने र त्यसमा आफू चौथो नम्बरका अध्यक्ष हुने लगभग उनले तय गरिसकेका छन्। एक नम्बरमा महन्थ ठाकुर, दोस्रो नम्बरमा डा.बाबुराम भट्टराई, तेस्रो नम्बरमा उपेन्द्र यादव र चौथो नम्बरमा राजेन्द्र महतो रहने विषयमा अनौपचारिक छलफल भएको समाजवादी पार्टीले जनाएको छ।
अध्यक्षमण्डलमा राजपाबाट दुइ र समाजवादी पार्टीबाट दुइ रहने छन्। एकीकृत पार्टीमा महेन्द्र राय यादवलाई संसदीय दलको नेता बनाउने पनि छलफल भइरहेको छ भने शरतसिंह भण्डारीलाई पनि उपयुक्त स्थान दिने छलफल भइरहेको छ ।
चारजनाको अध्यक्षमण्डलपछि वरिष्ठ नेता र उपाध्यक्षहरु बनाएर सबै नेतालाई व्यवस्थित गर्ने तयारी रहेको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस